
-प्रदीप नेपाल
अध्यक्ष महोदय !
आफ्नो सरकार अल्पमतमा परेको महसुस गरेपछि तपाईंले राजीनामा दिनुभयो । राजीनामाले तपाईंलाई प्रजातान्त्रिक अभ्यासमा लागेको प्रधानमन्त्री भन्ने सम्मान पनि दियो । तर, आफ्नो पार्टीबाट षड्यन्त्रमूलक तरिकाबाट प्रसारित गराइएको भिडियोले तपाईंको अनुहारमा कालो पोतिदियो । राजनीतिका विद्यार्थीहरूले प्रधानमन्त्रीको राजीनामालाई त्यतिवेलै नक्कली भनेका थिए । त्यसको पुष्टि पनि भयो । अरू पार्टीका मन्त्रीको राजीनामा स्वीकृत गरेर तपाईंले आफ्नो पार्टीको एकल मन्त्रिपरिषद् बनाउनुभयो । राजीनामा दिएपछि त्यही एकल मन्त्रिपरिषद् कामचलाऊ सरकार हुने भइहाल्यो । थाल्नुभयो निर्द्वन्द्व काम गर्न । काम गर्न थाल्नु मात्रै भएन, अर्को सरकार गठन नहोस् भनेर संसद्मा भाँडभैलो नै मच्चाउन थाल्नुभयो ।
तपाईं आफैँ प्रतिपक्षीमाथि जंगली काइदामा खनिनुभएको त्यो भिडियो चित्रलाई स्पष्टीकरणको भाका मिलाउँदै त्यो भिडियो पुरानो, पार्टीको आन्तरिक कार्यक्रम र वर्तमानको राजनीतिमा असान्दर्भिक भनेर ढाकछोप पनि गर्नुभयो । तर, त्यो छोपाइ पनि उही डोकेछोपाइजस्तो भयो । चित्र पुरानो त थियो, तर त्यो तत्कालको बोलीचाली र व्यवहारमा सान्दर्भिक नै देखियो । तपाईंले बोलेभन्दा चर्को स्वरमा नेकपा माओवादीका अरू नेताले ‘हामीले सत्ता-कब्जा गर्न खोजेकै हो’ भनेर चर्का-चर्का भाषण गरेर तपाईंको तर्कलाई अर्थहीन बनाइदिए ।
तपाईंले नेपालका सभामुख र भारतका सिद्धार्थ बर्द्धराजनसँग संसद्को गतिरोध अस्थायी हो भन्नुभएको थियो । तर, त्यसमा पनि इमान देखिएन । जेठ ४ गतेदेखि संसद् चालू हुन दिन्छौँ भन्ने तपाईंको बोलीको पनि पालना भएन । राजनीतिको खेल बुझ्नेहरूले तपाईंहरूभित्र लुकेर बसेको सत्तालिप्सा यो प्रकरणमा छर्लंग देखे । आपmनो राजीनामा संसद्मा प्रस्तुत भएपछि सरकारबाट बाहिरिनुपर्छ भन्ने सामान्यज्ञान तपाईंहरूमा थियो । त्यसैले तपाईंहरूले पूर्वप्रतिबद्धतालाई तिलाञ्जली दिँदै संसदीय गतिरोध कायम राख्नुभयो र नेकपा माओवादी पार्टीको कामचलाऊ सरकारलाई चाँदी काट्ने काममा लगाइरहनुभयो ।
सरकारबाट अब हट्नैपर्ने भयो भन्ने मनोदशामा पुगेपछि तपाईं स्वयम्ले नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालको ठाउँमा नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालालाई प्रधानमन्त्री बनिदिने अनुरोध गर्नुभयो । एकपल्ट होइन, दुईपल्ट होइन, गोप्यरूपमा पनि होइन खुलेआम तपाईंले गिरिजाप्रसाद कोइरालाको पैरवी गर्नुभयो, माधव नेपालको विरुद्धमा । किन ? कुरो प्रस्टै छ- आफूलाई कम्निस्ट भने पनि तपाईंहरूको सबैभन्दा ठूलो नेपाली दुस्मन नेकपा एमाले नै हुँदै आएको छ ०५२ सालदेखि अहिलेसम्म । अहिले पनि माधव नेपाल प्रधानमन्त्री हुने खबरले तपाईंको डाहा मौलायो ।
नेकपा माओवादीले आपmनो प्रधान शत्रु नेकपा एमालेलाई नै बनाएको छ भन्ने व्यावहारिक सत्यलाई नेकपा एमालेका कतिपय नेता स्वीकार गर्दैनन् । सिद्धान्त र विचारको क्षेत्रमा यी दुई पार्टीका बीच रौँबराबरको पनि मेल छैन । माक्र्सीय मान्यताका आधारमा हेर्दा नेकपा एमाले र नेकपा माओवादीबीचको दूरी नेपाल र साउदी अरबबराबर छ । हत्याको शंृखला हेर्दा पनि प्रस्ट हुन्छ, नेकपा माओवादीले सबैभन्दा धेरै नेता र कार्यकर्ता नेकपा एमालेकै मारेको छ । मतदाताहरू कांग्रेसका पनि मारिएका छन्, निर्दोष नागरिक पनि मारिएका छन् । तर, नेकपा एमालेका राष्ट्रिय परिषद् सदस्य, जिल्ला कमिटीका सचिव, अञ्चल कमिटीका सदस्यहरूको बर्बर हत्या भएको छ । जंगलीकालमा गोरखामा नेकपा एमालेका केन्द्रीय सदस्य वाचस्पति देवकोटा सहितको समूहलाई पहराबाट गाडी झारेर मार्न खोजिएकै थियो भने अघिल्लो हप्ता नेकपा एमालेका महासचिव ईश्वर पोखरल तथा पोलिटब्युरो सदस्य रवीन्द्र श्रेष्ठ र पशुपति चौलागाइर्ंलाई पनि त्यसैगरी पहराबाट खसाएर मार्ने हिसाबले सांघातिक आक्रमण गरिएकै हो । पत्रकारहरूमा पनि सबैभन्दा बढी नेकपा एमालेसँग जोडिएकैहरू मारिएका छन् भने नेकपा माओवादीको अपहरण र सांघातिक आक्रमणको सूचीमा पनि नेकपा एमालेकै स्थानीय नेताहरूको संख्या ठूलो देखिएको छ । त्यसैले तपाईंले ‘वामपन्थी वामपन्थीलाई भिडाए’ भन्दै कांग्रेस या अन्य कोही अदृश्य शक्तिलाई गाली गर्नुको अर्थै के हुन्छ र ? हिजो पनि तपाईंहरूलाई कांग्रेसले उचालेर नेकपा एमाले मार्न लगाएको होइन क्या रे ! मार्ने नेकपा माओवादी हुन्थे भने मारिनेहरू नेकपा एमालेका हुन्थे ।
एमाले तपाईंका लागि चाहिँदा भाँडो नचाहिँदा घाँडो भएको छ । यस्तो काइदा मित्रताको प्रतीक हुँदैन । हिजो जंगलीकालमा तपाईंहरूले नेकपा एमालेलाई ‘दक्षिणपन्थी विसर्जनवादी’ तथा ‘घाँसमा लुकेको हरियो सर्प’ भनेर सार्वजनिक घृणा प्रदर्शित गर्नुभएकै थियो भने अहिले सहकार्य टुटेको भोलिपल्टै नेकपा एमालेभन्दा कांग्रेस नजिक भन्ने मान्यता बोकेर तपाईं नेकपा एमालेलाई प्रधानमन्त्री दिनुहुँदैन भनेर कांग्रेस सभापतिसँग हारगुहार माग्न जानुभएको देखियो । तपाईंहरूको यस्तो व्यवहारलाई नेकपा एमालेले कसरी मित्रताको चिनो मान्न सक्छ ?
भाषण गर्न माइक अघिल्तिर उभिएपछि तपाईं धेरै सत्य बिर्सनु हुँदोरहेछ । संविधानसभा तपाईंहरूको नारा हो भनेर मैले धेरै ठाउँमा लेखिसकेको छु र तपाईंका नेता उपस्थित भएको कार्यक्रममा बोलेको पनि छु । यद्यपि, कांग्रेस र कामरेड मोहनविक्रम सिंहको दाबी पनि छ संविधानसभामा । तर, कांग्रेस र मोहनविक्रमजीको संविधानसभा इतिहास हो । पछिल्लो कालमा सबैले छाडेको संविधानसभालाई जुरुक्क उचालेर आजको नेपाली राजनीतिमा टाँस्ने काम तपाईंहरूले नै गर्नुभएको हो । तर, तपाईंले दाबी गर्नुभएजस्तो लोकतान्त्रिक गणतन्त्र तपाईंहरूले पहिलोपटक उठाएको नारा होइन । इतिहास साक्षी छ- जतिखेर तपाईंहरू राजासँग कार्यगत एकताका लागि दौडधुप गरिरहनुभएको थियो, त्यतिबेलै नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकले लोकतान्त्रिक गणतन्त्रको कार्यमूलक नारा पारित गरेको थियो । राजासँग अघोषित कार्यगत एकताको धङधङीमा लागेका वेला लोकतान्त्रिक गणतन्त्रको नारा उठाउने कुरा तपाईंहरूका लागि सम्भव पनि थिएन ।
अध्यक्ष महोदय, शत्रु-फोबिया भएर बाहिरफेरो आपmना दुस्मनको खोजी गरेर चर्को भाषण नगर्नुहोस् । तपाईंका यदि कोही शत्रु छन् भने ती पार्टीभित्रै छन् । आफूभित्रको शत्रुलाई पराजित गर्न बाहिर नक्कली शत्रु खोजी हिँड्ने कामले तपाईंको राजनीतिलाई अघि बढाउन सघाउँदैन । आफूभित्रका राम्रा-नराम्रा दुवैलाई चिन्नुस्, नराम्रालाई यानप्रसाद गौतम र रमेश ढुंगेल पनि नबनाउनुस् । उनीहरूलाई सुधि्रने अवसर दिएर असल मान्छे बनाउनुस् ।
माओवादी फेरि जंगल जाऊन् भन्ने सोच राख्ने नेपालीहरू नेकपा माओवादीबाहिर कोही छैनन् । तपाईंहरूको जंगल-आतंक अहिले पनि भयावह सपना बनेर नागरिकको मथिंगलमा नाचिरहेको छ । उसो त जंगलको अन्तिम परिणति पनि गएको मंगलबार साँझ देखिइसकेको छ- श्रीलंकाली बन्दुक युद्धको संस्करणमा । बन्दुक उठाउनुको निष्कर्ष लिट्टेको अवसानभन्दा बाहिर छैन । जतिबेला तपाईं खुलामञ्चबाट ‘हामीलाई लिट्टे बनाइदिने भन्छौ ?’ भन्दै अँध्यारोमा तीर हान्दै हुनुहुन्थ्योे, नढाँटी भन्ने हो भने त्यतिबेला लिट्टेको अवसानको जानकारी तपाईंबाहेक, अरुको त कुरै छाडौँ, नेपालका सेनापतिहरूलाई पनि थाहा थिएन होला । हामी राजनीति गर्नेका लागि त प्रभाकरणको दारुण अन्त्यको जानकारी उही टेलिभिजन र अखबारबाट मात्र आयो ।
अध्यक्ष महोदय, तपाईं जति थोर बोल्नुहुन्छ, त्यति तपाईं आफ्नो सम्मान जोगाउन सक्नुहुन्छ । तपाईंको बोलीमा तालमेल हुँदोरहेनछ । आज एउटा बोल्या छ, भोलि अर्को । तपाईंप्रति अत्यन्तै सद्भाव राख्ने केही मित्रले मसँग भनेका छन्- प्रचण्डजीलाई पार्टीभित्रबाट अप्ठ्यारो छ, उहाँ लोकतान्त्रिक आचरणकै व्यक्ति हुनुहुन्छ । तर पार्टीको पेलानमा परेर आफूले नचाहेको भाषण पनि उहाँले गर्नुपर्छ । यो गुनासो सत्य हो भने छाडिदिनुस् अध्यक्षको पद । अर्काको विचार बोकेर अध्यक्ष हुनु भनेको मानसिक रूपमा असाध्यै चर्को पीडा हो । पद पुष्पकमल दाहालको चिनारी होइन, पुष्पकमल दाहाल पदको चिनारी हो भन्ने सही राजनीतिक सोचलाई व्यवहारमा उतार्नुहोस् । शुभकामनाका साथ, तपाईंले कहिल्यै मन नपराएको
प्रदीप नेपाल